सेल साईकलको अवधारणा र क्यान्सरको उत्पती शरिरमा क्यान्सरको उत्पती कसरि हुन्छ?

सेलसाईकल: यो कुनै जिवको जिवन चक्र भनेको जस्तै शरिर भित्रका हरेक कोषको जिवन चक्र हो । यो चक्र समय निर्धारित हुन्छ र निश्चित समयमा निश्चित चरणहरू पार गर्दै यो चक्र पुरा हुन्छ । यस भित्र रहेर हाम्रो शरिरका सबै जसो कोषहरु कोष-बिभाजनको चरणमा प्रवेश गर्छन तर त्यो भन्दा अगाडि केहि निकै महत्वपुर्ण चरणहरू पार गर्नुपर्ने हुन्छ, उदाहरणको लागि, आनुवंशकिय गुणहरू सहित कोष भित्रका सम्पुर्ण अवयवहरुको दुई-दुई वटा प्रतिलीपी बनाउने र त्यसपछिमात्र कोष बिभाजनको प्रकृया शुरु हुन्छ । (अपवाद: राता रक्तकोष)

एउटा शुक्ष्मकोषको लागि आनुवंशकिय गुणहरुको प्रतिलिपी बनाउनु अत्यन्तै जटिल र चुनौतिपुर्ण कार्य हो । किनकी आनुवंशकिय गुणहरू डीएनएमा संग्रहित हुन्छ र हरेक कोषमा करिब २ मिटर लामो डिएनएका त्यान्द्राहरू एकआपसमा बेरिएर २३ जोडा क्रोमोजोमको रुपमा बसेका हुन्छन् । सजिलोको लागि, चौपायाहरूलाई बाध्ने जुटको दाम्लोलाई एउटा क्रोमोजोम मान्नुहोस् । र दाम्लोको मसिना तर बाटीएका जुटका रेसाहरुलाई डिएनएका त्यान्द्राहरू भनेर सम्झनुहोस् । जुटका हरेक मसिना रेसाहरूमा आनुवंशिक सुचनाहरु संग्रहित हुन्छन् र ति हरेक मसिना जुटका रेसाहरूको सहि प्रकारले प्रतिलीपी बन्नु आवश्यक हुन्छ । २३ जोडा दाम्लाहरुलाई खोल्ने, जुटका रेसाहरुको सहि प्रतिलिपी बनाउने, र पुन: रेसाहरुलाई बाटेर ४६ जोडा दाम्लाहरु बनाउने प्रकृयालाई जिवशास्त्रीहरुले “डिएनए रेप्लिकेसन” भनेर नामाकरण गरेका छन् । उक्त रेसाहरुको प्रतिलिपी बनाउदा गल्ति गर्ने छुट त कोषलाई हुदैन तर यो प्रकृया सतप्रतिशत् ठिक पनि हुदैन । आफ्नो आनुवंशकिय गुणहरुको प्रतिलिपी बनाईसकेपछि बिभाजनको चरणमा प्रवेश गर्नु भन्दा अगाडि कोषले सबै प्रकृया ठिक छ या छैन भनेर पुन:परिक्षण गर्नुपर्ने हुन्छ । यदि गल्तीहरू सच्याउन मिल्ने छन् भने कोषले बिभाजनको चरणलाई रोकेर अशुद्धिहरू सच्याउन थाल्छ । यस प्रयोजनका लागि कोषले “अशुद्धि सच्याउने शक्तिशाली संयन्त्र”लाई तैयारीमा राखेको हुन्छ । यो संयन्त्रले यदि रेसाहरू चुटिएकाछन् भने गास्ने, रेसामा गलत सुचना रहेछन् भने त्यसलाई काटेर सहि सुचना भर्ने आदि कामहरू गर्छ । तर सच्याउनै नमिल्ने प्रकारको गल्ती भएको रहेछ भने कोषले आफ्नो मृत्युको तयारी शुरु गर्छ र अन्त्यमा आत्महत्या (स्वमृत्युवरण?) गरि आनुवंशिक सुचनाहरूको सहि प्रसारणलाई सुनिश्चित गर्छन् ।

Source: http://www.britannica.com

हाम्रो शरिरको हरेक कोषहरु को उद्यश्य बिभाजन हुनु मात्र होइन । यदि सबै कोषहरु बिभाजन भइरहन्थे भने हाम्रो शरिर बुढेसकालमा कोषहरूको पर्वत हुन्थ्यो होला । केहि चक्र सम्म कोषहरुको बिभाजन भईसकेपछि तिनीहरु निश्चित प्रकारको परिपक्क कोषमा रुपान्तरित हुन्छन । परिपक्क कोषहरु सेल-साईकल को चक्र बाट बाहिरिन्छन । जस्तै स्नायुकोष, मुटुको मशंपेशीका कोषहरू । एउटा परिपक्क सेतोरक्तकोष बिभाजित भएर दुई वटा परिपक्क सेतोरक्तकोषहरू बन्दैनन् । परिपक्क सेतोरक्तकोषहरु रोगप्रतिरोधात्मक कार्यमा ब्यस्त हुन्छन् जसकारण यिनिहरू कोष बिभाजन जस्तो ठुलो कार्यमा शक्ति र समय खर्च गर्न सक्दैनन् ।

यो त भयो सामान्य अवस्थामा के हुन्छ भन्ने कुरा । तर कहिले काँहि निश्चित प्रकारको कामको लागि परिपक्क भईसकेको कोषपनि सेलसाईकलमा प्रवेश गर्छ र अनियन्त्रित भई कोष-बिभाजनमा सामेल हुन्छ अनि क्यान्सर कोषमा परिवर्तित हुन्छ । किन परिपक्क भईसकेको कोष सेलसाईकलमा प्रवेश गर्यो त भनेर सोध्नुहोला! यो बिभिन्न कारणहरू जस्तै, क्यान्सर वर्धक भाईरसहरुको संक्रमण, केहि रसायनहरु, आनुवंशिक कारणहरूले गर्दा तोकिएको कामका लागि परिपक्व बनाएको कोषलाई सेलसाईकल संचालन गरि अनियन्त्रित कोष-बिभाजन गर्न उत्प्रेरित गर्ने गर्छ ।

Source: http://www.cancerresearchuk.org

धेरैजसो अवस्थामा कोषहरु आफैंले सेलसाईकलको असामायिक सक्रियपनाको चाल पाउछन् र स्वमृत्युको तैयारी गर्छन् । धेरै जसो अवस्थामा रोगप्रतिरोधात्मक संयन्त्रका कोषहरुले बिभिन्न घातक रासायनहरुको प्रयोग गरि अनियन्त्रित रुपमा कोष-बिभाजन गर्न सक्ने कोषहरुलाई मार्ने काम गर्छ । यो प्रकृया अत्यन्तै निपुण हुन्छ । तर पनि कुनै बेला क्यान्सर कोषले रोगप्रतिरोधात्मक संयन्त्रका कोषहरु सगंको युद्ध जित्छ र क्यान्सर कोष रोग मा परिवर्तन हुन सक्छ । क्यान्सर रोगको निदान भईसकेपछि ति क्यान्सर कोषहरूको सेलसाईकललाई रोक्नु प्रमुख चुनौती हो । यसका लागि औषधिको रुपमा रसायन वा विकिरणको प्रयोग गरेर क्यान्सर कोषहरूको डिएनएमा भौतिकरुपमा क्षती पुर्याउने तरिका निकै प्रचलित छ । तर यो तरिकामा एउटा समस्या छ: कुनैपनि कोषको डिएनएमा भौतिकरुपमा क्षती भएपछि यसको “अशुद्धि सच्याउने शक्तिशाली संयन्त्र” सकृय हुन्छ र रसायन वा विकिरणको माध्यम बाट क्यान्सर कोषहरुको डिएनएमा आवश्यकमात्रामा क्षती पुर्याउन कठिन हुन्छ र यसरी औषधि प्रतिरोधक क्यान्सर रोगको उत्पति हुन्छ ।   

(Disclaimer: Above statements are very simplified and are answers to my parents or my overly curious cousins if they ask me what I am doing in a gradschool)

Published in Anotherverse Science Magazine 11/12/2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *