कोरोनाभाईरस: सामान्य विज्ञान र महामारी चर्चा

हालसालै समाचार तथा सामाजीक संजालमा चिनको वुहानबाट सुरु भएको नयाँकोरोनाभाईरस संक्रमणको बारेमा तपाईहरूले सुन्नुभएकै होला, पढ्नुभएकै होला । यो लेखमा कोरोनाभाईरसको संक्रमणको सामान्य विज्ञान र यसको महामारीको बारेमा चर्चा गर्न चाहान्छु ।

भाईरसको जैविक परिचय (जिवविज्ञानका कुरा) 

मानव कोष कोषिकाहरू वास्तवमा जिवनको एउटा एकाई हुन् । यि हरेक कोष कोषिकाहरूमा वंशाणुगत सूचनाको भण्डारण गर्ने डिएनए, सञ्चार गर्ने आरएनएदेखि लिएर कोषलाई आकार दिने प्रोटिनहरू, कुन समयमा कुन सूचना प्रवाह गर्ने कुराको निर्क्यौल गर्ने प्रोटिनहरू, कोष भित्र सरसफाई गर्ने, संक्रमण भईहालेमा संक्रमकलाई हटाउन तम्तयार भएर बसेका मिलिशिया जस्ता प्रोटिनहरू, संक्रमणलाई नियन्त्रण गर्न नसकिएमा स्वमृत्युवरण गर्ने महत्वपुर्ण तथा उत्तिकै जटिल कामहरू गर्ने जस्ता प्रोटिनहरू रहेका हुन्छन्। वैज्ञानिकहरूले कोष भित्रका यस्ता तत्वहरूलाई बायोमोलिकुल्स भनेर अङ्रेजी नाम दिएका छन् । बायोमोलिकुल्सलाई चिनीजडित वा प्रोटिनजडित कोलेस्ट्रोललगाएतका चिल्लो पदार्थका दुईवटा पत्रले घेरेर एउटा कोषको रुप दिएका हुन्छन । भाईरस सम्वन्धी लेखमा किन कोष वा जिवनको एकाईको कुरा गरेको होला भन्नुहोला। धैर्य गर्नुहोस्, म तपाईंलाई दुईवटाकुरा प्रस्ट पार्न खोज्दै छु ।

पहिलो, तपाईंले हाइस्कुलमा पढ्नुभएको कुरालाई सम्झिनुभएको होला । भाईरसहरू (वा जिवाणुहरू) सजिव तत्व र निर्जिव तत्वहरू बिचमा रहेका हुन्छन् भनेर कुनै एक समयमा हामीलाई पढाईएको थियो । त्यसै कारण हामी पनि यहाँ भाईरस जातिको एकाईलाई लाई कोष तथा कोषिका नभनि “कण” वा “भाईरसको कण” भनि चर्चा गर्नेछौं । संक्रमण गर्न सक्ने एउटा भाईरसको कण पनि कोष जस्तै केहि बायोमोलिकुल्सले भरिएको हुन्छ तर कोषमा हुने जस्तो बायोमोलिकुल्सको विविधता भाईरसको कणमा हुँदैन । भाईरसमा वंशाणुगत सूचना भण्डारण तथा सञ्चार गर्नका लागि डिनए वा आरएनए हुन्छ तर कोषमा जस्तो डिनए र आरएनए दुवै भने हुदैन । अपवाद बाहेक सामान्यतया भाईरसका कणहरू औसत मानव कोष भन्दा केही हजार गुणा साना हुन्छन्। सजिलो तुलनाको  लागि, अर्नाको ढाडमा बसेको भङ्गेरा । त्यसकारण, धेरै बायोमोलिकुल्स अटाउने ठाँउ भाईरसका कण भित्र हुदैन नै, कणहरुले पुनर्उत्पादन (वा जिवनचक्र) का लागि पनि कोष भित्रका बायोमोलिकुल्सको भर पर्नुपर्ने हुन्छ । तर सबै भाईरसका प्रजातीहरूले सबै प्रकारका कोष कोषिकाहरूमा संक्रमण गर्न नसक्ने भएकाले भाईरस र यसको आतिथ्य, भलै परजिवि, स्विकार गर्ने कोषकोषिकाहरू बिचको सम्वन्ध चाबी र ताल्चाको जस्तो हुन्छ । त्यस्तै, कोरोनाभाईरस पनि आफ्नो जिवनचक्र संचालनको लागि केही निश्चित प्रकारका कोषहरूमा भरपर्छ ।

कोरोनाभाईरस विषेशत: जनावरहरूमा पाईने भाईरस हो । यसको कण भित्र अनुवंशकिय सूचना भण्डारण गर्नका लागि आरएनए हुन्छ जुन डिएनए जस्तो स्थिर र भरपर्दो हुदैन । जनावरको कोषभित्र हुने भाईरसको जिवनचक्रको क्रममा उत्परिवर्तन (म्युटेसन) हुने सम्भावना पनि आरएनए वाहक भाईरसहरूमा डिएनए वाहक भाईरसको तुलनामा धेरै हुन्छ । उत्परिवर्तन भनेको दुईधारे तरवार जस्तो हो, जसले भाईरसलाई फाईदा पुर्‌याई अत्याधिक संक्रामक बनाउन पनि सक्छ अथवा यसले भाईरसको संक्रमण गर्ने क्षमतालाई निष्कृय पनि बनाईदिन सक्छ । वा उत्परिवर्तनको असर भाईरसमा केहि नपर्न पनि सक्छ । 

आरएनए वाहक कोरोनाभाईरसमा भईरहने उत्परिवर्तनका कारण यो भाइरस जिवनचक्र पुरा गर्न निश्चित प्रकारका कोषहरूमा मात्र वा निश्चित प्रकारका जनावरहरूमा मात्र निहित नरहन सक्छ । यस्तै, हालसालैको उत्परिवर्तनमार्फत चमेरो-जातिमा संक्रमण गर्ने यो भाईरस मानव-जातिमा संक्रमण गराउन सक्षम भएको र संभवत मानवजातिमा पनि भएको भाईरसको उत्परिवर्तनले यसलाई अत्याधिक संक्रमक बनाएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । 

कस्तो महामारी हो यो?

बिगतलाई हेर्ने हो भने २१औं शताब्दीको पहिलो २० बर्षमा कोरोनाभाईरसको यो तेश्रो महामारी हो । २००३ मा सार्स र २०१२ मा मर्स महामारी पनि कोरोनाभाईरसको संक्रमणद्वारा नै भएको थियो । २००३ को सार्स महामारी संभवत चमेराबाट मानव जातिमा सरेको र संक्रमित मानवबाट अर्को मानवमा सरेर माहामरीको शुरुवात भएको थियो । त्सस्तै, २०१२ को मर्स कोरोनाभाईरस सम्भवत ऊँट बाट मानवजातिमा सरेको तर संक्रमित मानिसबाट अर्को मानिसमा सजिलै श्वासप्रश्वासको माध्यमबाट संक्रमण नसरे पनि यसले महामारीको रुप लिएको थियो । 

वुहानको माछा बजारबाट सुरु भएको यो महामारी कोरोनाभाईरसकै कारण भएतापनि कोरोनाभाईरसमा हुने उत्परिवर्तनहरूले गर्दा संक्रमणको प्रकृति पहिलेको महामारी भन्दा फरक हुन सक्ने वैज्ञानिकहरूको राय रहेको छ ।

वुहानमा पहिलो पटक नयाँकोरोनाभाईरसद्वारा संक्रमित बिरामी भर्ना भएको करिव हप्तादिनमै चिनियाँ वैज्ञानिकहरूले यो भाईरसको अनुवंशकिय सूचना सार्वजानिक गरेका छन् । यो सूचना अध्ययन गर्दा नयाँकोरोनाभाईरस चमेरामा पाईने कोरोनाभाईरससंग करिब ८९% र २००३ सार्स महामारी गराएको कोरोनाभाईरससंग करिब ८०% समानता रहेको पाईएको छ । नयाँ कोरोनाभाईरसका बिरामीहरूमा सार्स र मर्सकोरोनाभाईरसका बिरामीहरूमा जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास छिटो-छिटो हुने, टाउको तथा जिउ दुख्ने लक्षण देखिएको छ । तर संक्रमणको लक्षण उस्तै उस्तै देखिंदैमा महामारीको स्वरुप पनि उस्तै हुन्छ भन्ने छैन। सार्सको महामारीमा करिब १०% मृत्युदर थियो भने मर्सको महामारीमा करिब ३५%  मृत्युदर थियो । तर अहिलेको नयाँकोरोनाभाईरसको महामारीमा मृत्युदर यति नै हो भनिहाल्नु हतार हुन्छ । नयाँकोरोनाभाईरस महामारीको स्वरुप भविष्यवाणी गर्नुभन्दा पहिले केहि प्रश्नको उत्तरहरू खोज्न जरुरी छ ।

पहिलो, के हामीले यो भाईरसको संक्रमणको प्रकृति बुझिसकेका छौं? मानव शरिरमा भाईरसका कणहरूको प्रवेश गरेको समयदेखि पहिलो लक्षण देखिन केही समय लाग्छ । उदाहरणको लागि सामान्य रुघाखोकीको भाईरस शरिरमा प्रवेश गरेदेखि पहिलो लक्षण देखिन औसतमा दुईदेखि चार दिन लाग्छ । अर्थात लक्षण देखिनु भन्दा पहिले नै संक्रमित बिरामीले अरूलाई रुघाखोकीको भाईरस सार्न सक्छ । भाईरसका कणहरूले प्रवेश गरेको समयदेखि पहिलो लक्षण देखिन लाग्ने समय जति लामो भयो माहामरीको स्वरुप त्यति नै जटिल हुन आँउछ । संक्रमणको यो महत्वपूर्ण पाटो यकिन रुपमा नबुझिसकिएकोले नयाँकोरोनाभाईरसको महामारीको गहिराई अहिले यसै नाप्न सकिंदैन ।

दोश्रो, २०१२ को मर्सकोरोनाभाईरसको महामारीमा केही बिरामीहरूमा कुनै लक्षणनै देखा परेको थिएन । अर्थात, मर्सकोरोनाभाईरस संक्रमित बिरामीले आफू बिरामी भएको महशुस नै नगरी अरुलाई संक्रमण सारेको पाईएको थियो । अहिले देखिएको नयाँकोरोनाभाईरसले कतै यस्तो प्रकृतिको संक्रमण त गरिरहेको छैन भन्ने कुराको यकिन जानकारी पाईएको छैन । यदि नयाँकोरोनाभाईरसको संक्रमण यस्तो प्रकृतिको हो भने भुस भित्र सल्किएको आगो जस्तो आफूलाई स्वस्थ महशुस भएता पनि भित्रभित्रै संक्रमित भई अरूलाई पनि संक्रमण सार्दै महामारी झन् फैलीने संभावना हुन्छ । 

तेश्रो, यो महामारीको उद्गमस्थल वुहान, जहाँ संक्रमणको जोखिम अन्य स्थानको भन्दा उच्च छ । भलै वुहानमा आवतजावतमा कडाई गरिएको समाचार पढ्न पाईएको छ तर वुहानका मेयरका अनुशार नँयावर्ष मनाउन र महामारी छल्न करिब पचासलाख मानिसहरू वुहान छोडेर बाहिर गएका छन् । नँयावर्ष तथा वसन्त उत्स्व मनाउन जम्माहुने सामाजिक प्रचलनले कतै संक्रमणको जोखिम अन्य स्थानमा पनि बढ्ने त होईन भन्ने प्रश्न उठ्छ । तर वुहान महामारीको शुरुवात देखिनै चिनले उठाएको कदमको विश्वभरका जनस्वास्थ्य विज्ञहरूले तारिफ गरेका छन् । संक्रमण देखिएको हप्तादिनमा नयाँकोरोनाभाईरसको आनुवंशकिय सूचना सार्वजानिक गर्नु, महामारीलाई नियन्त्रण गर्न प्रभावित क्षेत्रमा आवतजावतमा कडाई गर्नु, सूचनाको प्रवाहमा सहयोग आदि चिनले गरेका स्वागत योग्य कुराहरू हुन् ।

नेपालको सन्दर्भ

नेपालमा चिनियाँ पर्यटकहरूको आवागमन दर उच्च रहेको, नेपाली बिद्यार्थीहरू चिनियाँ शहरहरूमा अध्ययनका लागि जाने भएकाले नेपालमा पनि यो महामारीको जोखिम उच्च छ । हालसालै नयाँकोरोनाभाईरसको एकजना बिरामी फेला परेको र उक्त बिरामीको यात्रा विवरण नेपाल सरकारको स्वास्थ्य निकायलाई केही थाहा नभएको कुरा आएको छ । यो दुखद कुरा हो र हाम्रो जनस्वास्थ निकायले उच्च सतर्कता अपनाउनु पर्छ भन्ने कुरा ठम्याउन गाह्रो छैन । 

विमानस्थलमा यात्रुहरूको तापक्रम नाप्ने र बिरामीलाई कोरोनाभाईरस परिक्षण गरी कतिपय देशहरूले सतर्कता अपनाएका छन् । तर यही कुरा हाम्रो देशमा पनि लागु गर्न सुनिएजस्तो सजिलो छैन। विमानस्थलमा यस्तो व्यवस्था गर्नको लागि पनि धेरै निकायहरूबिच समन्वयको आवश्यकता पर्छ ।

जबसम्म नेपाल सरकारको प्रमुख प्राथमिकताहरूमा सर्वसाधारण जनताको स्वास्थ पर्दैन, तबसम्म हाम्रा स्वास्थ निकायहरूले महामारी नियन्त्रणको ठोस कदम चाल्न सक्दैनन्। विमानस्थलमा यात्रुहरूको परिक्षण गर्ने स्वास्थकर्मीहरु बिरामी यात्रुहरूबाट संक्रमित हुने संभावनालाई न्युनिकरण गर्न सचेत हुनुपर्छ । संक्रमित बिरामीलाई परिक्षण गर्ने, नियन्त्रित कक्षको आवश्यकता पर्छ जसको संचालन आर्थिकरुपले खर्चीलो हुन्छ । यस्ता अत्यावश्यक पुरवाधारहरूको बिकास नेपाल सरकारको अत्यावश्यक लिस्ट भित्र पर्न सकेका छैनन। अहिले महामारीको दौरान सरकारी निकायले महामारी नियन्त्रण गर्ने अपेक्षा राख्नु असारभरि सुतेर मंसिरमा दाँई गर्न पाईएन भनेर गुनासो गरेसरह हो।

चन्द्रमणि काफ्ले (@KafleCM)

 

Leave a Reply

Your email address will not be published.